प्रधानमन्त्री ओलीको सन्देशः जीवन रक्षाका खोपमा नाफा नहेरियोस्!

विश्व कोरोना महामारीले आक्रान्त भइरहेको छ । महामारी सुरु भएको एक वर्ष वित्न लाग्दा पनि उपचारको ठोस विधि विकास हुन सकेको छैन । यद्दपि शक्ति राष्ट्रहरु कसले पहिले खोप ल्याउने भनेर कोरोना भाइरसविरुद्धको खोप विकास गर्न युद्धस्तरमा जुटिरहेका छन् ।

यहींबीचमा संयुक्त राष्ट्रसंघको आयोजनामा बिहिबारदेखि (डिसेम्बर ३ र ४) ३१ औं विशेष महासभाको आयोजना भएको छ । महासभाले कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, खोपको विकासको अवस्था, आर्थिक, सामाजिक र मानव स्वास्थ्यमा पारेको असर र आगामी रणनीतिका विषयमा बृहत छलफलमार्फत ठोस योजना बन्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन

विशेष महासभामा विश्वका १ सय ४१ जनाले सम्बोधन गर्ने कार्यतालिका छ । त्यसमध्ये ५३ राष्ट्रप्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्री छन् । विश्वका नेताहरूको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोप र प्रयोगको विषयमा महासभाले केही निष्कर्ष निकाल्ने छ ।

महासभामा नेपालः प्रधानमन्त्रीको विशेष सम्बोधन

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटन सत्र र दोस्रो दिन (शुक्रबार) सम्बोधन गर्ने गरी महासभाको प्रोटोकलअनुसार अडियो भिडियो पठाइसकिएको छ । बिहिबार मध्यरातमा प्रधानमन्त्री ओलीले गरेको विशेष सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको बेला बन्न लागेका खोपमा सबै मुलुक र जनताको सहज पहुँच एवं उपलब्धता हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु विश्वव्यापी रुपमा सार्वजनिक हुनुपर्ने भन्दै विश्वव्यापी खोप उपलब्ध नभएसम्म विश्व कोरोना महामारीबाट सुरक्षित हुन नसक्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले महामारीका समयमा बन्ने जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने धारणा राखें ।

अहिलेको संकटले विश्वका शक्ति राष्ट्रदेखि सबैलाई ठुलो पाठ सिकाएको बताउँदै ओलीले संसाररुपी सानो डुंगा डुब्दा यसमा रहेका सबै यात्रुको जोखिममा पर्ने र सबैको हितलाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्नेमा जोड् दिए ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको प्रयास र पहलको प्रशंसासमेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार पनि कोभिड १९ को महामारी र त्यसले नेपालमा पारेको प्रभावलगायतका विषयमा विशेष सम्बोधन गर्ने जनाइएको छ । विशेष महासभामा सम्बोधनका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो ।

के हो कोभ्याक्स ?

कोभ्याक्स विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध निर्माण हुने खोपहरू विश्वमा सहजरुपमा खोप उपलब्ध गराउनका लागि बनाइएको समूह हो । डब्लूएचओले यस समूहलाई कोभाक्स अर्थात् ‘ग्लोबल भ्याक्सिन फेसिलिटी’ नाम दिएको छ । यसको समग्र उद्देश्य कोभिड महामारी रोक्न खोप, उपचार, परीक्षण र अन्य स्रोत बृहत् रूपमा उपलब्ध गराउनु हो ।

कोभाक्समा अहिले १८६ मुलुक छन् । जसमध्ये ९२ न्यून र मध्यम आय भएका राष्ट्र छन् । नेपाललाई न्यून आय भएको मुलुकमा राखिएको छ । युनिसेफका अनुसार कोभाक्स सुविधाअन्तर्गत कोभ्याक्सले सन् २०२१ सम्म न्यूनतम २ अर्ब खोप आपूर्ति गरिने छ र जसका लागि बोलपत्र आह्वान भइसकेको छ । खोप आपूर्ति कार्यमा ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)’ को व्यवस्थापन रहने छ ।

खोप विकासमा भइरहेको पहल

हाल विश्वमा कोभिडविरुद्घ १५४ वटा खोप प्रि–क्लिनिकल चरणमा छन् भने २१ वटा खोप पहिलो चरणको ट्रायलअन्तर्गत स्वस्थ युवामा र १३ वटा खोप दोस्रो चरणअन्तर्गत मानिसको ठूलो समूहमा परीक्षण भइरहेको छन् । १० वटा खोपको अन्तिम अर्थात् तेस्रो चरणको परीक्षण जारी छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाकाअनुसार कोभाक्सबाट मुलुकको जनसंख्याको २० प्रतिशतका लागि सहुलियत दरमा खोप आउनेछ ।

अहिले विश्वमा बेइजिङस्थित औषधी कम्पनी सिनेभ्याक बायोटेक, चीनको सबैभन्दा ठूलो सरकारी औषधी कम्पनी सिनोफार्मअन्तर्गतको चिनियाँ राष्ट्रिय बायोटेक समूह, अमेरिकी औषधि कम्पनी मोडर्ना, फाइजर इङ्क र बायोटेक एसई, जर्मन इम्युनोथेरापी कम्पनी, ओस्का विश्वविद्यालय, टोकियो विश्वविद्यालय र नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजी, जर्मन युनिभर्सिटी अफ मारबर्गको भिरोलजी संस्थान, अक्सफोर्ड विश्वविद्यालयलगायत कोरोना भाइरस विरुद्धको खोप निर्माणमा लागेका छन् ।

यि कम्पनीमध्ये केहीका खोज ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र सन् २०२१ को सुरुमै बजारमा ल्याउन गरी तयारी भइरहेको खबरले जनमानसमा केही आशा पलाएको छ ।

ढिलोचाँडो खोप त आउँला तर अल्पविकसित देशको त्यसमा पहुँच कसरी स्थापित गर्ने भन्ने विषयमा सबैको चाँसो छ । पैसा र शक्ति हुनेले पाउने र गरिब देशका जनताहरुले लाभ नपाउने स्थिति आउन नदिन प्रधानमन्त्री ओलीलगायत धेरै नेताहरुले सचेत रहन संयुक्त राष्ट्रसंघको विशेष महासभाबाट विशेष सन्देश प्रवाह गरेका छन् ।