तनहुँ घटनाबारे छलफल गर्न देउवाले बलाए पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो २ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुन्छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिई तीन घण्टा राखेको थियो।

पौडेल व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका थिए। उक्त पुल दुई वर्षअघि नै निर्माण सकिए पनि उद्घाटन भएको थिएन।

पुल उद्घाटनको विषय विवादित बनेको थियो। नेकपाले पुल कांग्रेस नेताबाट उद्घाटन गर्न नहुने भन्दै बुधबार अवरोध गरेपछि झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा लगाएको थियो।

निषेधाज्ञाबीच पौडेल पुल उद्घाटन गर्न गएपछि प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले विरोध गरेको थियो। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी पौडेललाई तत्काल रिहा गर्न भनेका थिए। बुधबार साँझ छ बजे पौडेललाई प्रहरीले छाडेको थियो।

पौडेललाई नियन्त्रणमा लिनुलाई कांग्रेसले एउटा घटनाका रूपमा मात्रै लिन नसकिने भन्दै यो सरकारको प्रवृत्ति भनेको छ। पौडेल शुक्रबार बिहान तनहुँबाट काठमाडौं आउने कार्यक्रम छ।