
झापा: विभिन्न राष्ट्रवादी संगठनहरुद्वारा घोषणा गरिएको मोटरसाइकल र्याली दुई दिन पश्चात् अर्थात मंसिर २० गते हुने भएको छ । राष्ट्रवादी समाज नेपाल, वीर गोर्खाली (ATF), शाही शक्ति नेपाल लगायतका संगठन पदाधिकारीहरुको आज बसेको भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी सहित सम्पुर्ण राष्ट्रबादी शक्तिहरु मिलेर मंसिर २० गते संयुक्तरूपमा मोटरसाइकल र्यालीको आयोजना गरिएको जनाइएको हो ।

राप्रपा पदाधिकारी सहित, वीर गोर्खाली (ATF) झापा जिल्ला संयोजक उमेश लामा, राष्ट्रवादी समाज नेपालका सल्लाहकार गिरिराज मणि पौडेल तथा सोही संस्थाका सदस्य रन्जन देवकोटा, शाही शक्ति नेपाल पुर्वान्चल प्रमुख लिप्सन बास्तोला लगायतका पार्टी तथा संगठन पदाधिकारीहरुको संयुक्त सहमतिमा मंसिर २० गते भव्य र्यालीको आयोजना गर्न लागिएको र्याली व्यवस्थापन समितिका सह-संयोजक तथा वीर गोर्खाली (ATF) झापा जिल्ला संयोजक उमेश लामाले बताएका छन् ।



नेपाल कै पुर्वी द्वार भनेर चिनिने काकरभिट्टा बाट शुरु गरि बिर्तामोड हुँदै दमक तर्फ प्रस्थान गर्ने र्यालीमा १५ हजार बढी मोटरसाइकल सवार हुने अपेक्षा गरिएको सह- संयोजक लामाको भनाइ छ । र्यालीलाई व्यवस्थापन गर्नको लागि राप्रपा युवा नेता ध्रुब उप्रेतीको संयोजकत्वमा १००१ सदस्यीय र्याली व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ । र्याली व्यवस्थापन समितिको सह- संयोजकमा युवक संगठनका झापा जिल्ला अध्यक्ष राजकुमार राई, वीर गोर्खाली (ATF) झापा जिल्ला संयोजक उमेश लामा, शाही शक्ति नेपाल पुर्वान्चल प्रमुख लिप्सन बास्तोला रहेका छन् भने सदस्यमा राप्रपा झापा क्षेत्र नं. ५ युवक संगठन अध्यक्ष सान नेपाल, राष्ट्रवादी समाज नेपालका सदस्य समेत रहेका रन्जन देवकोटा, ATF का जितेन्द्र कार्की, शाही युवा शक्तिका नवराज ढकाल, ATF कि मेनुका श्रेष्ठ लगायत रहेको जनाइएको छ ।

र्यालीलाई पुर्ण व्यवस्थापन गर्नको लागि आयोजक समितिले झापाका हरेक स्थानीय तहमा उपसमितिहरु समेत गठन गरिएको तथा सबै राष्ट्रबादी संस्था, संगठन, लगायत राष्ट्रवादी सोच बोकेका सबै नेपाली नागरिक र्यालीमा सहभागी हुनको लागि आव्हान गरिएको राप्रपा झापा जिल्ला सचिब केशव ओझाले बताए ।
पश्चिम नेपालका विभिन्न सहरहरू ढाक्ने गरि मानव सागर उर्लिएर सम्पन्न भएका र्यालीहरुमा जस्तै झापामा पनि बृहत रूपमा र्याली सम्पन्न हुने कुरामा आफुहरु ढुक्क रहेको शाही युवा शक्तिका पुर्वान्चल प्रमुख समेत रहेका आयोजक समिति सह-संयोजक लिप्सन बास्तोलाको भनाइ रहेको छ ।
एकातर्फ गणतान्त्रिक विधि बाट फर्मेसन भएको तिनै तहका सरकार संचालकहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप छ भने अर्को तर्फ राजसंस्थालाई जसरी भएपनि फिर्ता गराएरै छाड्ने भन्दै राप्रपा र राजसंस्थावादी संस्था तथा यसै उद्देश्यका लागि स्थापित संगठनहरु एकै ठाउँमा उभिएर आन्दोलन छेड्ने अभियानमा जुटेका छन् ।
अन्य जिल्लाको तुलनामा झापा जिल्लालाई राजसंस्थावादीहरुको किल्लाको रूपमा आकलन गर्न थालिएको छ भने झापा कै विर्तामोडमा आयोजना हुन गइरहेकोे भब्य मोटरसाइकल र्यालीले हिन्दु राष्ट्र सहितको राजसंस्थाको एजेन्डालाई बलियो रूपमा स्थापित गर्ने आयोजकको विश्वास रहेको पाइन्छ ।