सिद्धबाबालाई थुनामा राख्ने आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं : जबरजस्ती करणीका आरोपी ‘सिद्धबाबा’ अर्थात कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।

गत वर्ष माघ ९ गते उच्च अदालत विराटनगरले तीन लाख धरौटीमा रिहा गर्ने सुनसरी जिल्ला अदालतको थुनछेक आदेशलाई उल्ट्याउँदै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

बिज्ञापन

उक्त आदेशलाई शुक्रबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सदर गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेका गिरीले गत कात्तिक १९ गते उच्चको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

गिरीले सुनसरीको चतराधामस्थित आश्रममा २९ वर्षीया महिला अनुयायीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा गत वर्ष कात्तिक ४ गते किटानी जाहेरी परेको थियो । जाहेरीपछि उनलाई पक्राउ गरे पनि बिरामी भएको बहानामा गिरी मंसिर १२ गतेदेखि ३८ दिनसम्म विराटनगरस्थित विराटनगर अस्पतालमा भर्ना भएर बसेका थिए ।