ट्राफिक प्रहरीको अभियान ‘रोक, हेर र जाऊ’ शुरु

काठमाडौं : सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ‘रोक, हेर र जाऊ’ अभियान शुरु गरेको छ ।

सवारी दुर्घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान बुधबारबाट कार्यान्वयनमा ल्याएको हो ।

बिज्ञापन

सवारी चालकहरूले शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा दुर्घटनाको जोखिम बढ्ने गरेको बुझाइ महाशाखाको छ । सवारी चलाउँदा विशेष गरी ट्राफिक संकेतलगायतका अपनाउनुपर्ने सावधानीलाई ख्याल नगर्दा दुर्घटना जोखिम बढेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

‘सवारी चालकले भित्री सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाऊ भन्ने ट्राफिक नियम कतिपयले पालना नगरेको कारण हामी यो नियम पालना गराउन बाध्यकारी भयौं’ महाशाखा प्रमुख ढकालले भने, ‘प्रारम्भिक चरणका चालकलाई सिकाउने र पछि नमाने कारबाही गर्ने तयारीमा छौं ।’
यो नियम पालना गराउन पिकआवर (बिहान कार्यालय जाने समय र छुट्ने समय) मा तीन-तीन घण्टाको फरकमा घुम्ती सडकमा ट्राफिक प्रहरी खटिने महाशाखाले जनाएको छ ।

बुधबार मात्रै करिब ३५ सय चालकलाई उक्त संकेत बोर्डको महत्वको बारेमा सम्झाइ-बुझाइ गरेको महाशाखाले जनाएको छ ।