
एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन् ।

बिबिसीका अनुसार सो झडपका क्रममा छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । दुई ठूला समूहबीच टेन्थ स्ट्रिट र न्युयोर्क एभेन्युमा शनिबार राति झडप भएको बताइएको छ । हाल छुरा आक्रमणबाट घाइते भएका व्यक्तिको स्थानीय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन् । ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन् । ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् । यसबीचमा ट्रम्प समर्थक र विपक्षीबीच झडप भएको हो ।

सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए ।