
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता÷कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई जिप्रकामा राखेर अनुसन्धान भइरहेको छ ।



सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । विप्लव समूहका नेता÷कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ ।
