
काठमाडौं- सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने तयारीको जिम्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको छ ।

स्थापनाको प्रारम्भिक अध्ययन गर्न अर्थमन्त्रीको नेतृत्वमा समितिसमेत गठन गरेको छ । रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको एक दशकपछि सरकारले औपचारिक प्रक्रिया सुरु गरेको हो ।



सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशमै मल कारखाना खोल्न अर्थमन्त्रीको नेतृत्वमा प्रारम्भिक अध्ययन समिति गठन गर्ने र मल कारखाना खोल्ने तयारीका लागि उद्योग मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

‘स्वदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा माननीय अर्थमन्त्रीको नेतृत्वमा माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र माननीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसहितको ३ सदस्यीय समितिले प्रारम्भिक अध्ययन गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ, ‘निकट भविष्यमा वैदेशिक लगानी वा संयुक्त लगानी, स्वदेशी निजी लगानी, सहकारीको लगानीमा रासायनिक मल कारखाना खोल्ने आवश्यक तयारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने ।’
यसअघि गत महिनामा मात्रै सरकारले नै गठन गरेको एक अध्ययन कार्यदलले पनि नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न सकिने निष्कर्ष निकालेको थियो । कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत अध्ययन भने आवश्यक रहेको औँल्याएको थियो ।
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६८/६९ को बजेटमा नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गरेका थिए । त्यसको एक दशक बितिसक्दासमेत कारखाना स्थापनाको औपचारिक प्रक्रिया भने अघि बढाइएको थिएन । जबकि, बितेका ९ वर्षमा मात्रै नेपालमा १ खर्ब १६ अर्ब ९७ करोड रुपैयाँबराबरको रासायिनक मल आयात भएको भन्सार विभागको तथ्यांक छ ।
संविधान निर्माणपछि आएको पहिलो आर्थिक वर्ष ०७३/७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मल र प्रांगारिक मल कारखाना तथा जैविक विषादी कारखाना स्थापनाका लागि बजेट विनियोजन गरेको घोषणा गरेका थिए । यी कारखानाहरू सरकारी, निजी र सहकारीको साझेदारीमा स्थापना गरी सञ्चालन गर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ०७५/७६ मा ल्याएको आफ्नो पहिलो बजेटमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाको घोषणा गरेका थिए ।