कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेर हुँदै

काठमाडौं- कर्णाली प्रदेशमा आधा महिनाभन्दा लामो राजनीतिक उतारचढावपछि मन्त्रिपरिषद् हेरफेर हुने भएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज केही मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन्।

बिज्ञापन

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

यसअघि गत असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका १८ सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका थिए।

तर त्यसको प्रतित्युरमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई नै पदबाट हटाएका थिए। नेता यामलाल कंडेलको नेतृत्वमा शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा नेकपाको केन्द्रीय नेतृत्वसमेत विभाजित भएको छ।

यही अवस्थामा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषदमा केही मन्त्री हेरफेर गर्न लागेका हुन्। थपिने मन्त्रीहरुमा पूर्व एमाले तर्फको माधव नेपाल पक्षीय नेताहरु पर्ने भएका छन्।

मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भइरहेको र कोकोलाई कुन मन्त्रालय दिनेभन्नेबारे मुख्यमन्त्री शाही आन्तरिक गृहकार्यमा रहेको उनका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए।

उनीहरुलाई आजै नियुक्ति गरेर शपथ ग्रहण गराइने छ।