रानीपोखरी पुनःनिर्मित

१२ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सकिएपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छन् । त्यसअवसरमा राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

करिब ३ सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व छ । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण भएको छ । रानीपोखरीको पुनःनिर्माणले उपत्यकाको विकास मात्रै नभई पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

बिज्ञापन

रानीपोखरीको पुनःनिर्माणका लागि २ माघ २०७२ मा राष्ट्रपति भण्डारीले नै शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुनःनिर्माणको काम सम्पन्न भएको छ । रानीपोखरीसँगै ऐतिहासिक दरबार हाई स्कुलको पनि उद्घाटन भएको छ ।