कोरोना उपचारबाट हात झिक्ने विभेदकारी र गैरजिम्मेवार निर्णय फिर्ता होस् : नेता नेपाल

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पन्छिनु आपत्तिजनक भएको बताउनुभएको छ ।

कोरोना महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको सङ्ख्या दिनदिनै बढिरहेको बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको नेता नेपालले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । । सरकारको त्याे निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण सङ्क्रमित नागरिकहरु थप मारमा परेका उहाँको भनाइ छ ।

बिज्ञापन

सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा यस्तो निर्णय बिलकुल अनुचित रहेको उहाँले बताउनुभएकाे छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने नेता नेपालले जनाउनुभएको छ ।

‘सङ्क्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आमनागरिकमा थप आतङ्क सिर्जना हुने गरी गरिएको विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’, नेता नेपालले भन्नुभएको छ ।