
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् । कुनै पनि मन्त्रालयमा गलत कुराहरू छन् भने पनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्नेसमेत उनले बताए ।



यस्तै, मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए । कसैले पनि बाङ्गोटिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धतासमेत मन्त्री गुरुङले व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि महिला तथा सामाजिकमन्त्री रहेका उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार ग्रहण गरे ।