
प्रदेश १ मा कोरोना संक्रमणबाट मंगलबार बिहान ३ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो ।



विराटनगरको नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचार गराइरहेका मोरङको कानेपोखरी र रतुवामाईका संक्रमितको मृत्यु भएको हो ।

कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।
सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनको स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।
ब्लड क्यान्सर पीडित रहेका उनमा कोरोना देखिएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । भेन्टिलेटरमा राखेर थप उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
त्यस्तै मोरङकै रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान साढे २ बजेतिर मृत्युु भएको छ ।
असोज १३ गते नोबेलमा भर्ना भएका पुरुषको पीसीआर परीक्षण गराउँदा १४ गते पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।
मधुमेहको बिरामी रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइड पनि थपिएको अस्पतालले जनाएको छ । उनको आईसीयुमा राखेर उपचार भइरहेकोमा मृत्यु भएको नोबेलले जनाएको छ ।
त्यसैगरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
१२ असोजमा कोरोना पुष्टि भएपछि मृतक पुरुषलाई प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकोमा मंगलबार बिहान ४ः२० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।