
आईपीएल/दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोर २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो ।



बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए भने वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।

नभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११–११ रन जोडे । दिल्लीका कागिसो रबाडाले ४ विकेट लिए भने एन्रीच नोर्ट्जे र अक्षर पटेलले २–२ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रन जोडे भने पृथ्वी शाले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।
दिल्लीको टिममा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएनन् । सन्दीप लगातार पाँचौ खेलमा टिममा
पर्न असफल भएका हुन् ।
बैंगलोरका मोहमद सिराजले २ विकेट र इशुरु उडाना र मोइन अलीले १–१ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।