धरान घोपामा अनियमितता : अख्तियारले थाल्यो छानबिन

सुनसरी/सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । कोरोना संक्रमण भएर आइसोलेसनमा बसिरहेका उपकुलपति ज्ञानेन्द्र गिरी प्रतिष्ठानको खरिद प्रक्रियालगायतमा विवादित बनिरहेको बेला अख्तियारले छानबिन थालेको हो ।

गिरीले आइसोलेसनबाटै कर्मचारी नियुक्ति, सरुवा र विनाटेण्डर औषधि उपकरण खरिद गर्ने क्रम जारी राखेपछि अख्तियारले प्रतिष्ठानमा छानबिन सुरु गरेको हो । आइसोलेसनमा बसेका गिरीले २५ जना हेल्परसहित सल्लाहकार नियुक्ति गरेको, खरिद र इन्जिनियरिङ शाखाका कर्मचारीको सरुवा गरेको आरोप लागेको छ । यस्तै, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण विनाटेण्डर खरिद गरिएको छ ।

बिज्ञापन

प्रतिष्ठानमा गिरीकै संलग्नतामा अनियमितता भएको उजुरी आएपछि अख्तियारको इटहरीस्थित कार्यालयले अनुसन्धान थालेको हो । गिरीले प्रतिष्ठानको नियमावली विपरित काम गर्न थालेपछि परेको उजुरीको आधारमा छानबिन प्रक्रियालाई अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

अख्तियारले प्रतिष्ठानमा नियम विपरीत भएका सबै कामको बुँदागत रूपमा विवरण र कागजपत्र माग गरेको छ । आर्थिक रूपमा धरासायी बनेर प्रतिष्ठानले चिकित्सक र कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको बेला गिरीले आफूनिकटका व्यक्तिलाई कर्मचारीमा धमाधम भर्ती गरेको भन्दै उनको विरोध भइरहेको छ ।

प्रतिष्ठानको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले नियम विपरीत उपकुलपति गिरीले कर्मचारीको सरुवा गरेको विषयमा रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई भेटेर ध्यानाकर्षण गराएको बताए । यस्तै, एक सातादेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर चिकित्सकहरूले प्रतिष्ठानको नेतृत्व गर्न गिरी अक्षम भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरेका छन् ।