कञ्चनपुरमा वडाध्यक्षमाथि साङ्घातिक आक्रमण

डडेल्धुरा/अज्ञात समूहकाे कुटपिटबाट कञ्चनपुरको बेदकोट नगरपालिका- ९ का वडाध्यक्ष रामसिंह धामी घाइते भएका छन् । नगरपालिकाका तीन वडाको जग्गा समस्या समाधानका लागि समिति बनाएपछि मंगलबार राति सुन्दरपुर क्षेत्रमा आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

धामीको पेट र छातीमा चोट लागेको छ । आफूमाथि ८/१० जनाले आक्रमण गरेको वडाध्यक्ष धामीले उनले जानकारी दिए । बेदकोट नगरपालिका कार्यालयबाट घर फर्क‌ने क्रममा सुन्दरपुरको क्षेत्रीय कृषि तालिम केन्द्र नजिक कल्भर्टमा बाटो ढुकेर बसेको समूहले आक्रमण गरेको उनको भनाइ छ ।

बिज्ञापन

धारिलो हतियार प्रहार गर्दा पेटमा घाउ लोगेका धामीको पेट दुख्न थालेपछि मात्रै पेटमा घाउ भएको देखेर घर परिवारले उनलाई महाकाली अस्पताल ल्याईएको थियो । उनको पेटको घाउमा पाँच टाँका लागेका छन् ।

सरकारले सुन्दरपुर क्षेत्रको जमिनको विवाद ढुंगो लगाउने निर्णयसँगै आफूमाथि भूमाफिया समूहले युवा लगाएर हमला गरेकाे वडाध्यक्ष धामीकाे आराेप छ । बेदकोटका जनप्रतिनिधिले धामीमाथि हमला गर्ने समूहको पहिचान गरी कारबाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन् ।

कार्यालयबाट मोटरसाइकलमा घर फर्किँने क्रममा क्षेत्रीय कृषि कार्यालयदेखि पूर्व कल्भर्टमा हमला भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए ।