रातो मच्छिन्द्रनाथको रथलाई आज सोह्रखुट्टे पाटीसम्म तानिने

काठमाडौं : रातो मच्छिन्द्रनाथको रथलाई आज (आइतबार) पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै दिउँसो ३ बजे रथ तानिने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले जानकारी दिए ।

बिज्ञापन

महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा छ ।

त्यसपछि ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।