
काठमाडौँ, १७ भदौ । संघीय राजधानी काठमाडौं लगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ ।

काठमाडौंलगायत ४ जिल्लामा १ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा। सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् ।



‘यी १२ जिल्ला हट स्पट हुन् । समुदायमा कोरोना संक्रमण फैलिएको विन्दु शुरू भएको छ । यहीबेला नियन्त्रण गरे अन्य जिल्लामा फैलिन पाउँदैन,’ उनले भने ।

विगतमा बाहिरबाट आउनेमा संक्रमण थियो । अहिले झण्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको डा। तिवारी बताउँछन् । काठमाडौं कुल संक्रमितको संख्या ४ हजार ९१५ पुगेको छ । त्यसपछि पर्सामा २ हजार ३१० पुगेका छन् । अन्य प्रमुख संक्रमित जिल्लामा मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलालीलगायत छन् ।
यससँगै विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा के गर्ने भन्ने बहस शुरू भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेलका अनुसार पोजेटिभिटी दरका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गर्न सकिन्छ ।
‘हरेक जिल्लामा रहेका संक्रमितको पोजेटिभिटी दर निकाल्नुपर्छ । संक्रमण बढ्दो छ कि घट्दो छ भन्ने निष्कर्षका आधारमा कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भने । कुनै पनि जिल्लामा संक्रमण दर २०० भन्दा बढी भए लकडाउन गर्नुपर्ने डा। तिवारी बताउँछन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।