
सुनसरीको धरान उपमहानगरपालिकामा १० भदौसम्म लकडाउन लम्ब्याइएको छ ।

धरान उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले मोडालिटीमा थोरै परिवर्तन गरेर धरानमा कायम रहेको लकडाउनलाई १० भदौसम्म जारी राख्ने निर्णय गरेको हो ।



धरानमा दिनानुदिन कोरोना संक्रमित बढिरहेकोले र समुदायस्तरमै कोरोना संक्रमण फैलिएकोले लकडाउन थप गरिएको हो । अबदेखि लकडाउनको समयमा धरानमा अत्यावश्यक खाद्यान्न, तरकारी र दुग्धजन्य सामाग्रीका लागि बिहान ८ बजेसम्म मात्र खुल्ला हुनेछ ।

नगरपालिकामा दर्ता भएका व्यापारीहरुले कृषि बजारबाट तरकारी खरिद गरेर वडा तथा टोलमा बिक्री गर्न पाउनेछन् । तर, भानुचोकको सब्जी बजार र धरान ३ को पालिका तरकारी बजार भने नखोल्ने निर्णय भएको छ ।
धरान बाहिरबाट सामान ल्याउदा सेनिटाइज गर्ने र विदेशबाट आउनेहरुलाई पीसीआर अनिवार्य गरेको हुनुपर्ने निर्णय भएको उपमहानरपालिकाले जनाएको छ । सुनसरी प्रशासनले भने ७ भदौसम्ममात्र लकडाउन घोषणा गरेको थियो ।