
विराटनगर, ३२ साउन । प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।

मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगर महानगरपालिकामा मात्र ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।



सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको सो मनत्रालयले जनाएको छ ।