
विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणमा हुँदै आएको ढिलासुस्ती व्यवस्थापन गर्न छुट्टै पीसीआर मेसिन खरिद गर्ने तयारी गरेको छ ।

स्वाब संकलन गरेको निकै दिनपछि मात्र परीक्षणको रिपोर्ट आएको भन्दै जनस्तरबाट आलोचना हुने क्रम बढेपछि महानगरपालिकाले पीसीआर मेसिन खरिद गर्ने र परीक्षणलाई छरितो बनाउने निष्कर्ष निकालेको हो ।



पीसीआर मेसिन खरिद गर्न सहज भए पनि ल्याब स्थापना र सञ्चालन गर्न सजिलो नहुने भएकोले महानगरले सार्वजनिक निजी साझेदारीअन्तर्गत ल्याब सञ्चालन गर्ने योजना बनाएको छ ।

सोही अनुसार महानगरले कोसी अस्पताल विराटनगरसँग साझेदारी गरेर पीसीआर मेसिन सञ्चालन गर्ने प्रस्ताव गरेको छ । कोसी अस्पतालमा रहेको प्रयोगशालामा थप एउटा पीसीआर मेसिन महानगरले उपलब्ध गराउने र सञ्चालन तथा जनशक्तिमा पनि आवश्यकताका आधारमा साझेदारी गर्ने प्रस्ताव महानगरले गरेको छ ।
त्यस विषयमा थप छलफल गरी अघि बढ्ने सहमति भएको र महागरले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगर महानगरपालिकाले आफूले संकलन गरेको स्वाब प्रदेश प्रयोगशालामार्फत परीक्षण गराउँदै आएको छ ।
दैनिक ५ सयको संख्यामा परीक्षण गर्नुपर्ने अवस्था भए पनि प्रयोगशालाको क्षमता र त्यहाँको चाप व्यवस्थापन गर्नुपर्ने भएकोले महानगरले अहिले २ सय हाराहारीमा मात्र परीक्षण गराउने गरेको छ । सोही समस्या समाधान गर्न महानगरले पीसीआर मेसिन खरिद गरेर कोसी अस्पतालसँग साझेदारीमा सञ्चालन गर्दा सहज हुने निष्कर्ष निकालेको मेयर पराजुलीले जानकारी दिए ।