महामारीबाट बाँचिए सत्ताको लडाइँ फेरि खेल्न सकिन्छ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् ।

उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड-१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

बिज्ञापन

आज थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिए ।

‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन चाहे ती मेरा छिमेकमा बसेका व्यक्ति हुन्,’ उनले भने, ‘सरकारको आलोचना गरेर लडाइको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन ।’

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरूलाई आग्रहसमेत गरे । सरकारलाई जनताले ५ वर्षको म्याण्डेट दिएकाले ५ वर्षपछि नै सत्ताको खेलमा लाग्न मन्त्री ढकालले आग्रह गरे ।

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए । कुनैबेल पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौँ भन्नेहरू अहिले चुप लागेको बताए ।

त्यस्तै, मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताए । संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए । अन्य मूलुकको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्य प्रभावकारी भएको बताए ।

महामारीको अप्ठ्यारोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रहसमेत गरे ।