पाँचथर हत्याकाण्ड: प्रहरीको अनुसन्धानले थप प्रमाण फेला

पाँचथर । जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा दोषि आशंका गरिएका मानबहादुर माखिमको घर र आत्महत्या गरेको स्थानमा थप प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । उनी मंगलबार रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनको मिक्लाजुङ–७, स्थित घर र आत्महत्या गरेको स्थलबाट थप प्रमाण बरामद गरिएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

बिज्ञापन

घटनाबारे थप अनुसन्धान गर्ने क्रममा माखिमको घरबाट रगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्दा प्रयोग गरेको जस्तै डोरी भेटिएको प्रहरी प्रवक्ता पौडेलले बताए । त्यस्तै हत्याराको शंका गरिएका माखिमले आत्महत्या गरेको स्थानबाट समेत एनसेलको एउटा सिम कार्ड बरामद गरिएको बताइएको छ ।

उक्त हत्याकाण्ड सुरुको नुनमा सिसा मिसाइएको काण्डकै बिकसित रुप भएको स्थानीयले बताउँदै आएका छन् । हत्याकाण्डपछि शोक र त्रासमा रहेका स्थानीयले सिसा काण्डलाई गम्भिरतापूर्वक नलिइएको भन्दै हत्याकाण्डको मिहिन ढंगले छानबिन गर्न माग गर्दै आएका छन् ।

मुलुकलाई नै भावविह्वल बनाउने गरी सोमबार राती भएको हत्याकाण्डमा मिक्लाजुङ–३, आरुबोटेका ७५ बर्षिय बमबहादुर फियाकको घरमा उनी सहित चार र उनका माइला ज्वाई ३४ वर्षिय धनराज शेर्माको घरमा उनी सहित पाँच जनाको सामूहिक हत्या भएको थियो ।