नारायणी नदीको बहाव ४४ वर्षयताकै उच्च

नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९.९१ मिटर पुगेको थियो ।

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो ।

बिज्ञापन

यसअघि सन् १९७४ अगष्ट ५ मा १०.१ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

यसबीचको अवधिमा सन् २०१८ को वर्षातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९.६ मिटर रहेको उनले जानकारी दिए ।

त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।

जलस्रोतविज्ञ रायले भने, ‘४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको बहाव आज बिहान सबैभन्दा उच्च भएको देखिन्छ ।’

जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ पनि नारायणी नदीले खतराको तह नाघेको बताउँछन् ।

नारायणी नदीको खतराको तह ८ मिटर र बहाव ९ हजार ९ सय ९२ घनमिटर प्रतिसेकेण्ड छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र ८ हजार ४६० घनमिटर प्रतिसेकेण्ड छ ।