
झापा: गौरादह नगरपालिका अनेकौं विवादमा आइरहदा फेरि अर्को अनियमितता ओमकार टाइम्सलाई प्राप्त भएको छ । गौरादह बजार पुर्व किश्नेघाटमा एउटा अनौठो र क्षमा दिनै नमिल्ने प्रकृतिको अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको उक्त आरोप अन्य केही नभएर बजेटको दुरुपयोग सम्बन्धि नै रहेको छ ।




नगरसभाले किश्नेघाटमा दाहसंस्कार स्थल निर्माण गर्ने भनेर १० लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरसभाको उक्त निर्देशन बिपरित अहिले घाट निर्माण नगरिएको तर घाट बनाउने पैसाले धमाधम बगर पुर्न थालेको आरोप स्थानीयले लगाउन थालेका छ्न। स्थानीय टोल बिकास संस्थाका अध्यक्ष राजन खनाल उक्त कार्य अकर्मण्यता र अज्ञानताको उदाहरण भएको बताउछन् । उनी भन्छन्, ‘सामान्य क ख पढेको मान्छे लाई पनि म के गर्दैछु भन्ने थाहा हुन्छ तर यहाँ त कसरी लुट्ने भनेर मात्र योजना बनाइन्छ ।’ ‘आफू के गर्दैछु भन्ने थाहा नपाउने पनि जनप्रतिनिधि हुन्छ?’, उनी प्रश्न गर्छन् ।

उक्त कार्य मेयर रोहित कुमार साहको निर्देशनमा भएको खनालको आरोप छ । ऐन कानुन र कार्यविधिलाई पाखा लगाएर कार्य गरिएको भन्दै खनालले अख्तियारमा तुरुन्तै उजुरी समेत गरिने सुनाए ।
मेयर रोहित कुमार साहले आफ्नो पार्टीको ठेकेदार मार्फत काम गराएर नगरसभाले एउटा शिर्षकमा छुट्टयाइएको बजेट अर्को शिर्षकमा खर्च गर्नु अत्यन्तै गैर कानुनी र आर्थिक अनियमितता भएको आरोप स्थानीय सरोकारवालाको छ । आफ्नै पार्टीको ठेकेदारलाई काम दिनु के मात्र संयोग हुन सक्छ ? नगरपालिकाकै एक कर्मचारी प्रश्न गर्छन् ।
दाहसंस्कार स्थल निर्माण गर्ने पैसाले हतार हतार माटो पुरेको विषयमा मेयर रोहित साहसंग बुझ्दा आफुले ठिकै गरेको जिकिर गर्छन् । तपाईंको मनोमानीले मिले पनि कानुनी रूपमा त मिल्दैन होलानी भन्ने जिज्ञासामा मेयर साह भन्छन्, ‘कानुनमा के लेखिएको छ थाहा छैन तर वजेट फ्रीज हुन लागेकोले माटो पुरिएको हो’
यसरी खुल्लमखुल्ला गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिदै मेयर हिड्दा र नगरपालिकाले चरम भ्रष्टाचार गरेको समाचारहरु बारम्बार बाहिर आउदा पनि सम्बन्धित निकायबाट कुनै किसिमको अनुगमन नगर्नु र कानुनी दायरामा ल्याउने पहलकदमी नगर्नु आफैंमा शंकास्पद देखिन्छ ।