
प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवश्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवश्यक सामग्री जुटाउन सहज हुने उनले बताए ।

तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी खर्च गर्न नसकिने मन्त्री घिमिरेले बताए । झापाको दमक नगरपालिकाले विद्यालय शैक्षिक गुणस्तर सुधारसम्बन्धी अनलाइन कार्यक्रममा सोमबार मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । समुदाय परिचालन गर्न सके शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पर्ने सामग्री जुटाउनका लागि समस्या नहुने उनले बताए ।



विद्यालयमा समुदाय परिचालन गर्नका लागि सामाजिक विकास मन्त्रालयले पूर्वविद्यार्थी समाज गठनको अवधारणा ल्याएको बताए । ‘पूर्वविद्यार्थी विभिन्न तह र स्थानमा हुन्छन्, उनीहरूलाई परिचालन गर्न सके आवश्यक सामग्री जुटाउन सहज हुन्छ’ उनले भने ।

मन्त्री घिमिरेले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय मितेरी सम्बन्ध कार्यक्रम, इ-एजुकेशनको व्यवस्थापन, पूर्वविद्यार्थी समाज गठन र परिचालन, आमा समूह गठन र परिचालनको काम भइरहेको बताए ।
प्रविधिमैत्री विद्यालय हुनका लागि शिक्षक पनि दक्ष हुनुपर्नेमा उनको जोड छ । शिक्षक दक्ष भए मात्रै विद्यार्थीले दक्षता आर्जन गर्न सक्ने उनले बताए । प्रविधिमैत्री विद्यालय निर्माण कार्यमा दमक नगरपालिकाले कार्य सुरु गरेकोमा उनले धन्यवाद दिए ।
प्रदेश १ ले सुरु गरेको अभियानले अन्य प्रदेशमा पनि सिकाइको आधार तयार भएको मन्त्री घिमिरेले बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रमसम्बन्धी सामाजिक विकास मन्त्रालयले गरेको काम र उपलब्धिबारे मन्त्रालयका तर्फबाट हिक्मत बस्नेतले प्रस्तुति गरेका थिए ।