
भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ ।

पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले भारतको आयुष मन्त्रालयले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो ।



‘वैज्ञानिक परीक्षणसम्बन्धी तथ्य र विवरणबारे मन्त्रालयलाई जानकारी गराइएको छैन,’ मन्त्रालयले भनेको छ । साथै मन्त्रालयले औषधि बनाउन प्रयोग गरिएका पदार्थहरूको विवरण, अस्पतालमा गरिएको क्लिनिकल ट्रायलको नमुनाको संख्या, नतिजा र त्यसका लागि पूर्वस्वीकृति लिएको वा नलिएको समेतको जानकारी चाँडोभन्दा चाँडो दिन पनि भनेको छ ।

भारतीय कम्पनी पतञ्जलिले मंगलबार कोरोना भाइरस बिरामीको उपचारका लागि ‘दिव्य कोरोनिल किट’ नामक औषधि सार्वजनिक गरेको थियो । योगगुरु रामदेव र कम्पनीका अध्यक्ष आचार्य बालकृष्णले हरिद्वारस्थित पतञ्जलि योगपीठमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसविरुद्धको औषधि ‘कोरोनिल ट्याबलेट’ र ‘स्वासरी वाटी’ र ‘अणु तेल’ सार्वजनिक गरेका थिए । कार्यक्रममा रामदेवले क्लोरिन आयुर्वेदिक उत्पादन भएको र यसले कोरोना भाइरसका बिरामीलाई पूर्ण रूपमा निको पार्ने दाबी गरेका थिए ।
यसैगरी पतञ्जलिले यो औषधिलाई संक्रमितको उपचार गर्नमात्र नभएर संक्रमण हुनबाट रोक्न पनि प्रभावकारी दाबी गरेको थियो । पतञ्जलीका अध्यक्ष आचार्यले अश्वगन्धा, अणु तेललगायतका जडीबुटीबाट दुई वटा औषधि बनाइएको जानकारी दिएका थिए ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको औषधि पत्ता लाग्न बाँकी रहेको बताइरहेका बेला पतञ्जलिका तर्फबाट पछिल्लो दाबी आएको हो ।पतञ्जलिले यो औषधि खाने बिरामी ५ दिनदेखि १४ दिनभित्र सञ्चो हुनेसमेत दाबी गरेको छ ।