विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार छैनः बिडारी

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विदेशी बुहारीलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताए ।

बिज्ञापन

‘‘विदेशीसँग विवाह गर्न पाइन्छ । भारतसँग मात्रै होइन क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्क सँग जान्नु है ।’’

कांग्रेस सांसद जितेन्द्र नारायण देवलाई संकेत गर्दै उनले भने, ‘‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म बिहे ग¥यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्री भयो यस्तो छैन दक्षिण एसियामै छैन् । उहाँ चाँही पृथ्वीभन्दा बाहिरको मान्छे हो त ?’’

बैठकमा कांग्रेस सांसद देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै जनतालाई उनले भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न आग्रह समेत गरेका छन् ।

सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई को हो भन्दै प्रश्न गरे । उनले भने, ‘‘भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदि कुरा सदनमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कतापट्टी बोल्नु भयो भने के भन्ने ?’’

भारतीय नागरिकलाई मात्रै लागु हुनेगरी सरकारले ऐन नबनाएको उनले प्रष्ट पारे । विवाह गर्न कसैलाई रोकतोक नभएको उल्लेख गर्दै उनले यो प्रावधान भारतीय नागरिकलाई मात्रै लागु हुने कुरा नभएको बताए ।
विगतमा भएको व्यवस्थालाई परिवर्तन गरिएको भन्दै विपक्षी दलहरुले गरेको विरोधको पनि उनले खण्डन गरेका छन् । विगतका सबै कुराहरुलाई निरन्तरता दिने भए पञ्चायत शासन, राणा शासन किन बदल्या ? भन्दै उनले प्रश्न गरे ।

सरकारले वास्तविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको पनि उनले बताए ।