प्रहरीको गोलि लागि घाइते भएका विप्लवका कार्यकर्ताको मृत्यु

भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।

घिमिरेको तिघ्रामा गोली लागेको थियो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताए ।

बिज्ञापन

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै उनले आक्रोस पोखे ।

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।