
दमक। पत्रकार मञ्च दमकले आज दमक नगरपालिकालाई १३ बुँदे मागपत्र बुझाएको छ । पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, पुर्व अध्यक्ष कृष्ण कार्की, पत्रकारहरु अनिलदेव राई, गीता ढुंगाना, कमन देवान, देशराज नेम्वाङ, उत्तम रिजाल लगायतको उपस्थितिमा गदालले नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई माग पत्र बुझाउनु भएको हो ।

पत्रमा पत्रकार मञ्च दमकको भवन निर्माणका लागि कम्तिमा ५ कठ्ठा जग्गा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै भवन निर्माणका लागि यसै आर्थिक बर्षदेखि बजेट विनियोजन गर्न माग गरिएको छ । सञ्चारकर्मीहरुको कोरोना स्वास्थ्य वीमा गरिदिन पनि माग गरिएको छ ।



यस्तै अन्य मागहरुमा नगरपालिकाले संचार संस्थाहरुलाई दिदै आएको लोककल्याणकारी सूचना वापतको रकममा शत प्रतिशत वृद्धि गर्नु पर्ने, बीचमा रोकिएको दमक विकास पत्रकारीता पुरस्कार र उदयीमान पत्रकारीता पुरस्कार वितरणलाई यो आर्थिक वर्षदेखि निरन्तरता दिनुपर्ने लगायत रहेका छन् ।

सो क्रममा मञ्चका पुर्व अध्यक्ष कार्कीले आँफु अध्यक्ष हुँदादेखि जग्गा मागेको भन्दै जग्गा उपलब्ध भए भवन निर्माण गर्न कुनै कठिनाई नहुने बताउनु भएको थियो ।