मलखादमा कालोबजारी, नियमनकारी निकाय मौन

रौतहट । रौतहटको चन्द्रपुरस्थित कृषि सामग्री संस्थानकै मिलोमतोमा व्यापारीहरुले धमाधम मलखाद खरिद गरेर कालोबजारी गर्ने गरेको पाइएको छ ।

किसानका लागि ल्याइएको मल संस्थानकै मिलेमतोमा व्यापारीको गोदाममा पुगेको हो ।

बिज्ञापन

लामो समयदेखि जारी लकडाउनका कारण पीडामा रहेका किसान मलखादमा भइरहेको कालोबजारीका कारण दोहरो मारमा परेका छन् । गत वैशाख र जेठ महिनामा ठूलो परिमाणमा चन्द्रपुरस्थित संस्थानद्वारा मलखाद वितरण गरिएको भए पनि किसानले पाउन सकेका छैनन् । सरकारी अनुदानमा आएको मलखाद व्यापारीले हात पारेको किसानको गुनासो छ ।

नियमनकारी निकायले लकडाउनमा अनुगमन गर्न नसकेका कारण संस्थानका कर्मचारी र व्यापारीको मिलोमतोका कारण किसानले मलखाद पाउन नसकेर बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।

रौतहटमा गत वैशाखदेखि मलखादको अभाव छ । व्यापारिक स्रोतका अनुसार संस्थान प्रमुख र व्यापारीको सेटिङ्गमा मलखाद वितरणमा अनियमितता बढेको हो । गरुडा र धरमपुर, इशलामपुर, कटहरियाका केही व्यापारीले १० वटासम्म सहकारीको कागजात पेस गरेर ठुलो परिमाणमा अनुदानको मलखाद खरिद गरेका छन् ।

अनुदानको मलखाद खरिद गरेर उनीहरुले किसानलाई मनपरी मूल्यमा बिक्री वितरण गर्ने गरेको फतुवा बिजयपुरका किसान अच्युत मैनालीले बताए । ‘लकडाउनका कारण मल आउन नसकेको भन्दै अभाव देखाएर उनीहरुले चर्को मूल्यमा बेच्न थालेका छन्,’ उनले भने ।

उचित मुनाफासहित प्रतिबोरा ८ सय रुपैयाँमा पाउने युरिया मल १२ सयदेखि १३ सय र २२ सयमा पाउने अनुदानको डिएपी मल २५ सय रुपैयाँसम्ममा व्यापारीहरुले बेचेर कालोबजारी गरिरहेको मैनालीको गुनासो छ ।

वैशाखदेखि नै बजारमा सुपथ मूल्यमा मलखाद नपाएर किसानहरु चर्को मूल्यमा खरिद गर्न बाध्य भएको कटहरिया नगरपालिका– ५ का किसान जयप्रकाश यादवले बताए ।

कृषि सामग्री संस्थान चन्द्रपुरका प्रमुख रवि केसरीले आफु चन्द्रपुरमा हालै आएकाले जिल्लाको सहकारीको अवस्थाबारे पूर्ण जानकारी नरहेको बताए ।

कुनै पनि व्यापारीसँग आफ्नो सेटिङ्ग नरहेको र मलखादमा हुने गरेको कालोबजारी नियन्त्रण गर्ने तथा बजार अनुगमन गर्ने अधिकार स्थानीय प्रशासनको रहेको उनको भनाइ छ ।

प्रशासन स्रोतका अनुसार संस्थानबाट सहकारीमार्फत प्राप्त हुने मलखाद किसानसम्म पुग्यो कि पुगेन भनेर विश्वस्त हुन मलखाद लिने किसानको नामावली र हस्ताक्षरसहितको भर्पाइ पेस गर्नु पर्दछ ।

रौतहटका अधिकांश सहकारी संचालकहरुले अनुदानमा आएको मलखाद मनपरी भाउमा बिक्री गर्ने र पछि नक्कली किसानको नाम लेखेर संस्थानमा पेस गर्ने गरेको किसानको गुनासो छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा मलखादमा कालोबजारी भईरहेको स्वीकार गर्दै नियन्त्रणको पहल भईरहेको बताए ।

कृषि सामग्री संस्थानबाट अनुदानमा पाएको मलखाद केही व्यापारीले सर्लाही र बाराका बजारमा समेत बेच्ने गरेको सूचनाको आधारमा स्थानीय प्रहरीलाई निगरानी गर्न निर्देशन दिएको उनले बताए ।

स्थानीय प्रशासनले सहकारी संचालकले संस्थानमा पेस गरेको किसानको नामाबली अनुसार सम्बन्धित किसानलाई सोधपुछ गरेमा बास्तविकता सामुने आउने र कालोबजारीको पर्दाफास हुने जानकारहरुको भनाइ छ ।