प्रदेश १ का आइसोलेसनमा १ सय ८२ जना

विराटनगर — प्रदेश १ का विभिन्न जिल्लाका गरी अहिले १ सय ८२ संक्रमितलाई आइसोलेसनमा राखेर चिकित्सक एवं स्वास्थ्यकर्मीले हेरचाह गरिरहेका छन् ।

प्रदेशभर गरी हालसम्म संक्रमितको संख्या ३ सय ४६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये उपचार र हेरचाहपछि १ सय ६४ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा सबैभन्दा बढी झापामा संक्रमित पुष्टि भएका छन् ।

बिज्ञापन

झापाका १ सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी कचनाकवलका १ सय २६ जनामा संक्रमण पाइएको थियो । संक्रमण पुष्टि भएका अधिकांश दिल्ली, मुम्बईलगायत भारतका विभिन्न स्थानबाट आएकाहरू रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाका संक्रमितमध्ये १ सय ४ जना आइसोलेसनमा बसेपछि पछिल्लो पटक गरिएको परीक्षणमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएका छन् । संक्रमितहरूलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा राखेर हेरचाह गर्ने गरिएको छ ।

यसैबीच, शनिबार साँझसम्म प्रदेश १ का १६ हजारभन्दा बढीको स्वाब नमुना परीक्षण गरिएको छ । धरानस्थित बीपी प्रतिष्ठानमा ६ हजार ४ सय ५१, विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा ६ हजार १ सय ३ र विराटनगरकै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ४ सय ६८ जनाको नमुना परीक्षण गरिएको छ ।