
पोखरा, पर्वत — मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित सवारी दुर्घटनामा परेर उपचारका लागि आएको भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पर्वतका एक ३५ वर्षीय पुरुष संक्रमित मणिपालमा उपचाररत रहेको जनाएको थियो ।

अस्पताल स्रोतका अनुसार उनी जेठ २१ को मध्यरातमा भर्ना भएका थिए । दुर्घटनामा हातखुट्टा भाँचिएको र टाउकोमा समेत चोट लागेकाले उनलाई मणिपाल ल्याइएको थियो । उनको अस्पतालको न्यूरो आईसीयूमा उपचार भइरहेको थियो । उनी कुश्मा नगरपालिका–३ का हुन् । टाउकोको अप्रेसन भएको र कोरोना परीक्षणपछि हातखुट्टाको पनि अप्रेसन गर्ने तयारीमा अस्पताल थियो । यहीबीचमा बिहीबारको राति उनमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको मणिपालको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

संक्रमित विरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसमा लगिसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन डा. बिनोद बिन्दु शर्माले बताए ।
पर्वतका ती युवामा संक्रमण पर्वतमा नै देखियो वा अस्पतालमा देखियो भन्नेबारे भने अनुसन्धान भईरहेको पर्वत जिल्ला प्रशासनले बताएको छ । उनीसँगै गण्डकी प्रदेशमा शुक्रबारसम्म संक्रमितको संख्या १८८ पुगेको छ ।