
काठमाडौं । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार पीडित पक्षको संरक्षणको सन्दर्भमा ३ बुँदे निर्देशन दिएका छन् ।




खरेलले पीडित घाइतेहरुलाई संरक्षण एवम् सुरक्षाको प्रवन्धका अतिरिक्त चिकित्सकीय, मनोवैज्ञानिक र मनोचिकित्सकीय परामर्श उपलब्ध गराउन, मृतकका परिवारलाई सुरक्षाको प्रवन्धका अतिरिक्त चिकित्सकीय, मनोवैज्ञानिक र मनोचिकित्सकीय सेवा तथा परामर्श उपलब्ध गराउन निर्देशन दिएका छन् । यसैगरी पीडित घाइतेलाई औषधि उपचारलगायत कामको लागि अन्तरिम क्षतिपूर्ति दिनुपर्ने भएमा सोको लागि आवश्यक कार्य गर्न समेत महान्यायाधिवक्ताले निर्देशन दिएका छन् ।

‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा (४) ले कुनै खास कसूरबाट पीडित व्यक्तिले आफूलाई पक्षबाट अनुचित डर, त्रास वा भय हुन सक्ने वा आफ्नो जिउज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सूचना प्रहरीलाई दिएमा प्रहरीले त्यस्ता पीडितको संरक्षण गरिदिनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । तत् सम्बन्धमा निम्नअनुसार गर्ने गराउने प्रवन्ध हुन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार निर्देशन दिइएको छ’, ३ बुँदे निर्देशनमा भनिएको छ ।