
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नै खर्चमा एयर अरेबियाका उडानमार्फत शुक्रबार नेपालीलाई ल्याउने भनिएको पहिलो उडान रोकिएको छ । यूएईले आठ उडानमार्फत अलपत्र नेपालीलाई ल्याउने तयारी छ ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो ।



१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो भने शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो । तर, अन्तिम सयममा आएर उडान रोकिएको छ ।

सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, यूएई उडानसँग सम्बन्धित केही विषय अझै प्रष्ट हुन बाँकी रहेको दूतावासलाई बताएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा शुक्रबार सबै सरकारी कार्यालय बन्द छ । केही प्राविधिक कुरा प्रष्ट हुनुपर्ने भयो । यसबारे केही दिनमा टुंगो लाग्नेछ ।
पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।
कान्तिपुर दैनिकमा खबर छ ।