दमकमा आर्थिक बर्ष २०७७।७८ को बजेट, नीति तथा कार्यक्रम निर्माणका बारेमा सर्बदलीय छलफल

दमक। झापाको दमक नगरपालिकाले आज यहि आर्थिक बर्ष २०७७।७८ को बजेट, नीति तथा कार्यक्रम निर्माणका बारेमा सर्बदलीय छलफल गरेको छ । नगरपालिकाले पालिकाको सभाकक्षमा सर्वदलीय छलफलको आयोजना गरेको हो । प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको छलफलमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले चालू आर्थिक बर्षको हाल सम्मका योजना तथा कार्यक्रमहरुको प्रगतिको बिषयमा जानकारी गराउनु भएको थियो । वहाँले आगामी बर्षका लागि तय गरिएका केहि योजना तथा कार्यक्रमहरु छलफलका लागि प्रस्तुत गर्नु भएको थियो ।

 

बिज्ञापन

नगरपालिकाको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि

 

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका नेकपाका नेता गगन पुरी, कांग्रेसका महासमिति सदस्य शेर बहादुर भट्टराई, नगरसभापति रोशन विष्ट, ढुण्डीराज भण्डारी , राप्रपाका राम थापा, आदिवासी जनजाती महासंघ दमकका पूर्व अध्यक्ष मोहन धिमाल लगायतले चालू आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रमका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

 

सोक्रममा नगरपालिकामा जनप्रतिनिधिहरुले राजनीतिक आस्थाका आधारमा कतिपय कामहरु गरेको भन्दै कतिपयले नगरपालिकाको कामको आलोचना समेत गर्नु भएको थियो । कांग्रेस नेता शेरबहादुर भट्टराईले विगतमा राजनीतिक सन्तुलन मिलाएर नगरको विकासमा काम गरिएको भएपनि अहिले नगरपालिकाको नेतृत्वले शिक्षा क्षेत्रमा एक्लौटी रुपमा हस्तक्षेप गर्न खोजेको टिप्पणी गर्नुभयो ।

 

त्यस्तै छलफलमा राप्रपा नेता थापाले नगरपालिकाको काम प्रति कडा शब्दमा असन्तुष्टि जनाउनु भयो । वहाँले दमकमा फोहोर व्यवस्थापन सम्बन्धि निजी क्षेत्रको परियोजनामा नगरपालिकाले राज्य कोषको १७ करोड रुपैयाँ दिएको भन्दै त्यसप्रति तिब्र असन्तुष्टि जनाउनु भयो । वहाँले निजी क्षेत्रका नाममा आफनो पार्टीको कार्यकर्ताहरुलाई सरकारी बजेट दिइएको हो भने त्यो सरासर अन्याय भएको उल्लेख गर्नु भयो। नेता थापाले दमकको सामुदायिक विद्यालय र दमक बहुमुखी क्याम्पस नगरपालिकाको प्राथमकितामा नपर्नु दुःखद भएको टिप्पणी समेत गर्नु भयो ।

 

उता नेकपा नेता पुरीले बजेट तथा कार्यक्रम राम्रो रहेको चर्चा आफूले गरिरहनु नपर्ने भन्दै दिपीनि, खरखरे र बेतेनी खोलाको सौन्दर्यकरणको योजनामा जोड दिनुभयो । आदिवासी जनजाती नेता धिमालले प्रथम नागरिक धिमाल भनिए पनि उनीहरुको जिवनस्तर उकास्ने कार्यक्रमहरुको आवश्यकता रहेको उल्लेख गर्नु भयो । कार्यक्रम नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको थियो ।