कान्तिपुरका पत्रकार न्याय माग्दै महासंघमा, ‘अवस्था जटिल’

काठमाडौं । नियमित तलबको माग गर्दै कान्तिपुर पब्लिकेशन्सका पीडित पत्रकार र कर्मचारी सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गुनासो गर्न पुगेका छन् ।

 

बिज्ञापन

युनियनका नेताहरुसहित पुगेका उनीहरुले कान्तिपुर व्यवस्थापनले यसअघि आफूहरुलाई झुक्याएको, दिन्छु भनेका सुविधाहरु समेत कटाएको भन्दै निकास निकाल्न आग्रह गरेको महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले  बताए ।

 

सोमबारै महासंघको उपत्यकामा उपलब्ध पदाधिकारी, सदस्यहरुसहितको केन्द्रीय बैठक समेत बसेको थियो ।

 

बैठकपछि महासचिव रमेश विष्टबाट हस्ताक्षरित विज्ञप्तिमा सञ्चारगृहमा गरिएको अनुगमनका आधारमा तयार प्रतिवेदनमाथि छलफल भएको उल्लेख छ ।

 

बैठकमा महासंघले करिब चार दर्जन सञ्चारगृहमा गरेको मिडिया अनुगमन प्रतिवेदन प्रस्तुत भयो । प्रतिवेदनले लकडाउनको अवधिमा अधिकांश सञ्चारगृहमा श्रमजिवी पत्रकारको अवस्था जटील रहेको देखाएको छ ।

 

विशेष गरी ठूला सञ्चारगृहमा कार्यरत पत्रकार नै बढी मात्रामा समस्यामा परेको, कतिपय सञ्चारगृहमा व्यवस्थापन पक्षले नियमित पारिश्रमिक नदिएका कारण दैनिक गुजारा गर्न कठिनाई देखिएको र श्रमको मूल्य नपाएका कारण पत्रकारहरु प्रताडित बनेको कुरा प्रतिवेदनमा औंल्याइएको छ ।

 

 

महासंघले श्रमजीवी पत्रकारको बाँकी रहेको तलब तत्काल भुक्तानी गर्न, पत्रकारलाई जबरजस्ती जागिरबाट नहटाउन, तोकिएको पारिश्रमिक एकतर्फि ढंगले कटौती नगर्न तथा पत्रकारहरुलाई पेशाबाट विस्थापित नहुने वातावरण सुनिश्चित गर्न नेपाल सरकार, मिडिया सञ्चालकसहित सरोकारवाला निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ । साथै श्रमजीवी पत्रकारको हक, हित र अधिकारका पक्षमा निरन्तर दबावमूलक र कानूनी संघर्ष अघि बढाउने निर्णय गरेको छ ।

 

बैठकमा बोल्दै केन्द्रीय सदस्यहरु जैशी, गोविन्दप्रसाद चौंलागाई, यम विरहीसहितले पत्रकारलाई अलपत्र पार्ने मिडिया मालिकहरुको बासस्थान पुगी स्थानीय टोलबासी समेतसँग समन्वय गरी लडाई लड्नुपर्ने प्रस्ताव गरेका थिए ।

 

दोस्रो चरणमा यसबारे निर्णय हुने महासंघका एक पदाधिकारीेले जानकारी दिए ।

 

पछाइको अकस्मात राजिनामा

 

यसैबीच, कान्तिपुर प्रकासनभित्र सम्पादक सुधिर शर्मासँगको खिचलोको कारण कर्पोरेट म्यानेजर शिशिर पछाइले राजिनामा दिएको थाहा भएको छ । शर्माको गतिविधिप्रति शिशिरलगायतको टीम असन्तुष्ट थिए ।

 

प्रकासनको हितमा आफूले लगेका प्रस्तावलाई अर्को टिमले सुनुवाई नगरेको, भूमिका खोसेको, पत्रकार, कर्मचारीको दुर्गती गराएको लगायत आक्षेप पछाइले अन्य सहकर्मीमाझ लगाएको बुझिएको छ ।

 

खासगरी कर्मचारी, पत्रकारलाई न्यूनतम पारिश्रमिक दिलाउने पक्षमा काम नभएको, बेतलबीमा राखिएकोलगायत विषयमा शिशिरले फरक मत राख्दै आएका थिए ।

खुला नेपाल मिडिया