
झापा गौरादह– ४ का किसान दयाराम दाहालले एक बिघा क्षेत्रफलमा चैतेधान लगाएका छन् ।




धानको बाला लाग्दा राम्रै लाग्यो । अर्काको जग्गा ठेक्कामा लिएर कृषि पेसा गर्दै आएका दाहाललाई यसपटक भने परिवार राम्रैसँग चलाउन सकिन्छ भन्ने आशा पनि लागेको थियो ।

तर, धान पाक्ने वेलामा बाला ओइलायो । क्रमशः धानको बुटा मर्न पनि थाल्यो । अहिले त उनले लगाएको धान काट्नै नहुने गरी बिग्रियो ।
‘हाम्रो त पेसा नै यही हो । ऋण गरेर खेती गरेका थियौँ । धान त ओइलाएर कामै नलाग्ने भयो,’ उनी भन्छन्, ‘अब धान काट्न पनि खर्च नै लाग्छ । बरु अब पानी लगाएर जोत्न पो थाल्छु ।’
उनको धानमा ‘नेक ब्लष्ट’ रोग लागेको छ । कृषि पेसा गरेर ६ जनाको परिवार चलाउने दाहाललाई यस वर्ष कसरी परिवार धान्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
सोही ठाउँका तुलसीराम ढकालले दुई बिघा क्षेत्रफलमा लगाएको धानमा पनि यस्तै समस्या देखिएको छ ।
पाक्न लागेको धानमा दाना सुकेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
‘आठजनाको परिवार मिहिनेतबाहेक ७०–८० हजारको लगानी लाग्यो । धान सुक्न थालेपछि औषधि पनि लगाएँ,’ उनले भने, ‘तर, अब त आस मऱ्यो । सरुवा रोग रहेछ एउटा गरामा लागेको रोग सबैतिर फैलियो ।’
कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा १९ हजार आठ सय हेक्टर क्षेत्रफलमा चैतेधान हुन्छ ।
जिल्लाको गौरादह, कमल, कन्काई र गौरीगञ्जमा चैतेधान रोपिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए ।
तर, यस वर्ष भने एक हजार बिघा क्षेत्रफलमा लगाइएको धान नेक ब्लाष्टले सखाप भएको उनले बताए ।
‘अझै बढी ठाउँमा पनि लागेको हुन सक्छ,’ उनले भने, ‘हामी तथ्यांक संकलन गरिरहेका छौँ ।’
उनका अनुसार यो रोग ‘हर्दिनाथ– १’ नामक धानको बिउमा मात्र देखिएको छ । यो बिउबाटै सर्ने रोग भएको सिंहले बताए ।
‘यो बिउबाटै सर्ने रोग हो । आगामी वर्षदेखि यस्तो बिउ नलगाउन किसानलाई आग्रह पनि गर्छु,’ उनले भने, ‘यो रोग तापक्रम नमिल्दा पनि लाग्छ । धानका लागि २५ देखि ३२ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । यस वर्ष पानी पर्ने घाम लाग्ने भइरहेको छ । त्यसकारण पनि यस्तो भयो ।’
धान उत्पादनका दृष्टिकोणले झापा नेपालमै उर्वर भूमि मानिन्छ । तर, विभिन्न रोगका कारण किसानले हैरानी व्यहोर्नुपरेको छ ।
साथै सरकारी निकायले समयमा नै रोग नियन्त्रणका लागि किसानलाई सहयोग गर्नेभन्दा समस्या भइसकेपछि तथ्यांक संकलनमा मात्र केन्द्रित हुने गरेका छन् ।
आफ्नो समस्या सरकारका विभिन्न निकायमा राख्दा पनि सहयोग नपाएको गुनासो किसानको छ ।
कृषि ज्ञान केन्द्र झापाले भने मन्त्रालयबाट नीतिगत निर्णय नभएसम्म केही गर्न नसकिने बताएको छ ।
‘हामीले तथ्यांक संकलन गरेर प्रदेशमा पठाउने हो,’ उनले भने, ‘उताबाट नीतिगत निर्णय नभएसम्म हामीले केही गर्न सक्दैनौँ ।’
नयाँ पत्रीकाबाट साभार