
काठमाडौं : विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ । प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ ।

जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे । त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घटनाहरू भएका छन् ।



सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सिध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला हत्याकाण्ड भएका छन् ।

विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो ।
त्यसोत आज जेठ १९, तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ ।
१९ वर्षअघि आजैका दिन तत्कालिन राजा शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो । २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र र उनको परिवारको हत्या भएको थियो ।
उक्त घटनाको १९ वर्ष हुँदा पनि त्यस हत्याकाण्डलाई धेरैले रहस्यमय घटनका रुपमा हेर्ने गरेका छन् ।
पारिवारिक जमघटका बेला भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।
उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले ‘आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपारिवारका सदस्यहरुलाई मारी आफूले पनि आत्महतया गरेको’ भन्ने खालको विवरण सार्वजनिक गरेको थियो ।
तर, त्यसलाई धेरैले त्यसबेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन् । उच्च सुरक्षा घेराभित्र भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ ।
दरबारमा भएको अकल्पनीय घटनापछि राजपरिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको अन्तर्वार्ता दिएका थिएका छन् । डा. देवकोटाका अनुसार दरबारको घटनाको ढाकछोप गर्नका लागि युवराज दीपेन्द्रले लागुपदार्थ खाएको भनिएको हुन सक्छ ।
उक्त घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन् । तर तिनमा पनि कि त दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ ।
तर ती विवरणमा पनि विश्वसनीय आधार दिइएको छैन ।
दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ’मैले देखेको दरबार’ मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ ।
हालै सार्वजनिक भूतपूर्व प्रमुख शाही पार्शववर्ती सुन्दरप्रताप रानाको पुस्तक ’दरबारको दुस्खान्त, राजपरिवार र संहारः मैले जसरी देखेँ’ मा पनि दीपेन्द्रले नै उक्त हत्यकाण्ड मच्चाएको ठम्याइ छ ।
तर रानाले उक्त घटनापश्चात् घाइते राजा वीरेन्द्रको उद्धार गर्ने क्रममा कसले गोली चलाएको हो भन्ने नदेखेको लेखेका छन् ।
कतिपय इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्ने गर्छन् ।
विसं २०६२/६३ को जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रलाई उक्त हत्याकाण्डको दोष लगाउँदै नारा लगाइएको थियो । त्यसले पनि धेरै नेपालीलाई गणतन्त्रतर्फ उन्मुख हुन उत्प्रेरित गरेको कतिपयको विश्लेषण हुने गरेको छ ।
दरबार हत्याकाण्डको ७ वर्षपछि २ हजार ६५ जेठ १५ गते देशबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । त्यसपछि २ सय ५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।