रुकुम घटनाकाे पोष्टमार्टम रिपोर्ट : पाँचै युवाकाे मृत्यु कुटपिटबाट

काठमाडौं । रुकुम घटनामा मारिएका ५ जना युवाको पोष्टमार्टम रिपोर्टले उनीहरुको मृत्यु कुटपिटबाट भएको देखाएको छ। जाजरकोट अस्पतालमा उनीहरुको पोष्टमार्टम गरिएको थियो।

पाँचै युवको मृत्यु कुटपिटबाट भएको ठहर चिकित्सकले गरेका हुन्। मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चोरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए।

बिज्ञापन

‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ पोष्टमार्टममा संलग्न एक चिकित्सकले भने, ‘नदीमा बगे पनि उनीहरुको पेटमा पानी भरिएको छैन।’ नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट भरिएको हुनुपर्छ। तर, रुकुम घटनामा मारिने कुनै पनि युवामा त्यस्तो नदेखिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक किशोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेले कुटेर हत्या गरेका थिए। घटना १० जेठको हो। सोही दिनदेखि एक युवा अझै बेपत्ता छन्।

नवराजसँगै गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो। घटनामा अर्का युवा गोविन्द शाही अझै बेपत्ता छन्।

जाजरकोट अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ।