
एजेन्सी, १६ जेठ । बार्सिलोनाका पूर्वप्रशिक्षक स्यान्ड्रो रोजेलले नेयमारभन्दा उत्कृष्ट एकमात्र खेलाडी लियोनल मेस्सी भएको बताएका छन् ।

‘रेडियो मार्का’सँगको अन्तर्वार्तामा रोजेलले अर्जेन्टिनी स्टार मेस्सी नेयमारभन्दा एकमात्र उत्कृष्ट खेलाडी भएको बताएका हुन् ।



रोजेल बार्सिलोनाका ३९औं अध्यक्ष थिए । यता, मेस्सी र नेयमारले चार वर्ष बार्सिलोनाबाट एकसाथ खेलेका थिए ।

सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनाबाट खेलेका नेयमार हाल फ्रान्सेली क्लब पीएसजीबाट खेलिरहेका छन् ।
बार्सिलोना छोडेको तीन वर्षपछि उनी पुनः क्याप नोउ फर्किने मनसायमा रहेको बताइन्छ । उनी विश्वकै दोस्रो उत्कृष्ट खेलाडी रहेको रोजेलको भनाइ छ ।
‘यदि, बार्सिलोनाको वर्तमान अध्यक्ष हुन्थेँ भने म उनलाई फर्काउने प्रयासमा हुनेथिएँ । उनी मेस्सीपछाडिका विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनी बार्सिलोनामा एकदमै फिट हुन्छन्’, रोजेलले भने ।
तथापि, नेयमारले बार्सिलोनासँग २ वटा सम्झौता गर्नुपर्ने रोजेलको भनाइ छ । ‘अनुभवको आधारमा भन्नुपर्दा नेयमारले बार्सासँग २ खाले सम्झौता गर्नुपर्छ, एउटा खेलसम्बन्धी र अर्को व्यवहारसम्बन्धी,’ उनले भने ।