
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । शुक्रबार बिहान १० बजे बस्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा समितिले तयार पारेको कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।




भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका, विश्वका विभिन्न मुलुकको श्रम बजारमा रहेका र अहिले अलपत्र हालतमा रहेका नेपालीलाई ल्याउने विषयमा सरकारले कार्यविधि तयार पारेको बुझिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग ब्रिफिङ लिइ तयारीबारे बुझेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यविधि नै बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले देशभर रहेका विशेषतः स्थानीय तहले बनाएका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकाले सोको व्यवस्थापनपश्चात् मात्रै ल्याउने तयारी गर्न निर्देशन दिएका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट पिक गर्नेदेखि क्वारेन्टाइनमा राख्ने र घर पठाउनेसम्म सबैको मूर्त योजना बनेपछि, तयारी पूरा भएपछि मात्रै विदेशबाट नागरिक ल्याउन सुरु गरिने बताएका थिए । यसबारेमा आजको मन्त्रिपरिषद् बैठकले विस्तृत निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।