
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ ।




बिहीबार बिहान कोरोना देखिएको कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको हो ।

उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रहेको पाइएको हो ।
शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजेटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।
उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको त्रिवि अस्पतालस्थित उच्चले जनाएको छ ।
हाल ईएनटी विभागको भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको कारण उनलाई न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो ।
अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ । त्यसपछि मात्रै कसरी अस्पताल सिल गर्ने वा के गर्ने भन्ने टुंगो लाग्छ ।