एक महिनादेखि बन्द रहेको पूर्वीनाका खुल्यो

झापा — नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै ठप्प रहेको नेपाल प्रवेशको पूर्वीनाका शनिबारदेखि सञ्चालनमा आएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि यो नाका विगत एकमहिनादेखि बन्द थियो ।

 

बिज्ञापन

भारतको पश्चिम बंगालस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकररभिट्टा भारततर्फबाट एकलौटी रुपमा बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए ।

 

शुक्रबार पश्चिम बंगाल सरकारले नाका खोल्ने निर्णय गरेपछि शनिबार भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधन मेची भन्सार प्रवेश गरेको नेपाली भन्सार अधिकारीहरुले बताएका छन् ।

 

भारतलगायत तेश्रो मुलुकबाट आउने मालबाहक सवारी साधनलाई नाकामा स्प्रे गरेर मात्र नेपाल प्रवेश गराइएको छ । अब तत्कालै नाकामै मालवहाक सवारी साधनलाई लक्षित गरेर ‘डिसइन्सफेक्शन टनेल’ निर्माण गर्ने योजना रहेको नेपाली सुरक्षा अधिकारीहरुको भनाई छ ।

 

आज दिउसोसम्ममा दुई दर्जन बढी मालवाहक सवारी साधन मेची भन्सार कार्यालय परिसर भित्रिएका छन् । भारत तथा तेस्रोमुलुकबाट आएका त्यस्ता सवारी साधनलाई २४ घण्टासम्म मेची भन्सार कार्यालय काँकरभिट्टाको याडमा नै राखेर मात्रै जाँचपास गरी गन्तव्य पठाईने छ ।