कोरोनाले नेपालमा गरिबी बढ्ने

काठमाडौं : कारोनाभाइरसले निम्त्याएको असरले नेपालमा गरिबी बढ्ने भएको छ । असंगठित क्षेत्रका श्रमिकले रोजगारी गुमाउनुका साथै संगठित क्षेत्रमा पनि धेरैतिर असर परेकाले नेपालमा गरिबी बढ्ने संकेत देखिएको हो ।

 

बिज्ञापन

तर, नेपालमा कति गरिबी बढ्छ भन्ने विषयम भने अध्ययन शुरु गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

 

अर्थविद्हरुले २०७२ सालमा गएको भूकम्पको भन्दा ठूलो धक्का यस महामारीका कारण जीवनस्तरमा पुग्ने चेतावनी दिएका छन् ।

 

कोरोना रोकथामका लागि गरिएको लकडाउनले अहिले असंगठित क्षेत्रका श्रमिक कामविहीन छन् भने होटललगायत पर्यटन क्षेत्रमा करिब १५ लाख श्रमिकको रोजगारी संकटमा परेको छ ।

 

यस्तै अन्य क्षेत्रमा पनि संकुचन आइसकेको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागले एक साताअघि आर्थिक वृद्धि २ दशमलव २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको थियो ।

 

आर्थिक वृद्धि खुम्चिँदा त्यसको सबैभन्दा बढी प्रभाव न्यून आय भएकाहरुलाई पर्छ । त्यति मात्र होइन, बल्लतल्ल जीवनस्तर उकासिएको जनसंख्या पनि पुनः गरिबीको रेखामुनि धकेलिने आकलन छ । पाँच वर्षअघिको भूकम्प र नाकाबन्दीले भन्दा ठूलो धक्का यस महामारीले पुर्याउने अर्थशास्त्रीहरुको भनाइ छ ।

 

दैनिक ज्यालादारीमा काम गर्ने मानिसको तलब नआउने र रोजगारीको उचित व्यवस्था नभएका कारण पनि गरिबी बढ्न सक्ने बताउँछन्–अर्थशास्त्री विश्व पौडेल ।

 

सरकारी तथ्यांक अनुसार नेपालमा अहिले गरिबीको रेखामुनि रहेको जनसंख्या संख्या १८ प्रतिशत छ । चालु १५ औं आवधिक योजनामा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्यमा अहिलेको संकटले नराम्रो धक्का लाग्ने भएको छ ।

 

संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीका कारण विश्वभर ५० करोड मानिस गरिब हुने प्रक्षेपण गरेको छ ।

 

नेपालमा थप कति जनसंख्या गरिबीमा धकेलिन्छ भन्ने अहिलेसम्म अध्ययन भएको छैन । अहिलेको संकटका कारण गरिबी कति बढ्छ भन्नेबारे अध्ययनसँगै त्यससँग जुध्ने रणनीति तर्जुमा भइरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

 

वार्षिक १ लाख २४ हजार रुपैयाँभन्दा कम आय हुनेलाई सरकारले गरिबको परिभाषामा राखेको छ । आर्थिक वर्ष २०७२–०७३ मा २१ दशमलव ६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । झण्डै ४० लाख नेपाली युवा रोजगारीमा गएका भारत र खाडी मुलुकमा पनि महामारीको असर परेकाले त्यसले पनि गरिबी बढाउन भूमिका खेल्नेछ ।

 

श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार विदेशमा रहेका ४ लाखभन्दा बढी नागरिक नेपाल फकर्नि सोचमा छन् ।

 

कोरोनाका कारण रोजगारी गुमाएका दुई लाख ८ हजारको भिसा म्याद सकिएको र आम माफि पाएका एक लाख २७ हजार नागरिक नेपाल फर्किने चाहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

 

विश्व बैंकको सन् २०१८ को वर्गीकरण अनुसार नेपाल प्रतिव्यक्ति आय निम्न भएका संसारका सबैभन्दा गरिब देशको सूचीमा छ । १ हजार ५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आय भएका देशलाई विश्व बैंकले निम्न आय भएको देशको सूचीमा राख्छ ।

 

यसले गर्दा पनि नेपालमा थप गरिबी र बेरोजगारी बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।