विस्फाेटक पदार्थसहित विप्लवका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलामको माई नगरपालिका–९, बोरुङमा ठूलो परिमाणमा विस्फाेटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र २ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो ।

 

बिज्ञापन

पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई विस्फाेटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको इलामका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए ।

 

पाण्डेका अनुसार उनीहरूको साथबाट विस्फाेटक पदार्थ डेटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकीबम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथकड ६७ फिट, बम विस्फाेटनमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका विस्फाेटक पदार्थ, चक्कु तथा दस्तावेज फेला पारिएको छ । पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपुर्‍याइएको छ । रासस