आइतबार रातिदेखि उपत्यका भित्रिने नाकामा थप कडाइ, अत्यावश्यक बाहेकका सवारीमा रोक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा थप कडाइ गरेको छ । हिजो (आइतबार) साँझबाट काठमाडौं उपत्याका भित्रिने मुख्य नाकामा थप कडाइ गरिएको हो ।

 

बिज्ञापन

आइतवार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री बादलले नाकामा खटिएका सुरक्षाकर्मीलाई नाकामा कडा गर्न निर्देशन दिइएका हुन् ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलका अनुसार आइतबार साँझबाट सीमा नाकामा थप कडाइ गरिएको र अत्यावश्यक सवारी बाहेक कसैलाई छिर्न दिइएको छैन ।

 

आइतवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए । तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास भएका सवारीलाई छिर्न नदिएपछि सिडिओले प्रहरीलाई फोन गरेर गुनासो गर्ने गरेका छन् ।

 

’हाम्रो पासलाई मान्यता नदिने भन्दै केही सिडिओ साबहरुको फोन आइरहेको छ,’ एक प्रहरी अधिकृतले भने ।

 

निजी सवारीमा बिरामी बोकेर आएकालाई भने विरामीको अवस्था र रिपोर्ट हेरेर छोड्ने गरेको छ। सोमवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख लगायतले नाका अवलोकन गरेर फर्किएका थिए।