किसानको पीडा: तिमी हाम्रो सहकारीका सदस्य होइनौ, मल दिन मिल्दैन

झापा : गौरादह नं. पा. वार्ड नं. ७ का राम देव महतोले अधिया कमाएको ४ बिघा जमिनमा चैते धान रोपेका छन् ।  धानको बोट निकै आस लाग्दो छ तर मलको अभावमा धान बिग्रने समस्या  ले उनी पिरोलिएका छन् । सहकारीले मल बाढ्छ भन्ने सुनेर उनी रात भर डिलर अगाडी उभिए तर बिहान ६ बजे खुलेको डिलरले उनलाई मल दिन अस्विकार गर्यो । ‘तिमी हाम्रो सहकारीको सदस्य होइनौ, तिमिलाई मल दिन मिल्दैन’, सहकारी सञ्चालक बाट महतोले पाएको रुखो जवाफ थियो । राम देव मात्र होइन उनी जस्ता किसान यो वडामा धेरै छन् ।

 

बिज्ञापन

धानबालीमा मल हाल्ने समय बित्नै लागेको छ । मध्य बैशाख हुँदा समेत झापाका अधिकांश स्थानीय तहमा कृषकले धान बालीको लागि पर्याप्त रूपमा मल खाद पाउन सकेका छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले सहकारी संस्थालाई मल बितरणको लागि डिलर दिएको भएता पनि पर्याप्त रूपमा मल आयात नहुदा किसानहरु मारमा परेका हुन् ।

 

हुने खाने र पहुँचवालाको हातमा रहेका ग्रामीण सहकारीले वास्तविक किसान लाई मल नदिएर व्यापारीलाई बेच्ने गरेको समेत गुनासो बढेको छ । कालोबजारी गरेर  ब्यापारीका हातमा पुगेको मल आकासिएको भाउमा किसानले खरिद गर्नु परेको पिडित किसानको आक्रोश छ ।

 

यसै वडाको फकिढिपमा सञ्चालित राम गौरी कृषी सहकारीलाई उपलब्ध भएको मल शेयरधनीलाई मात्र बाढ्न मिल्ने भन्दै किसानलाई नदिए पछी किसानहरु खाली हात फर्कन बाध्य भएका थिए । सहकारी सञ्चालकले किसानलाई मल दिन नचाहेको तर खेती बारी नै नभएकाहरुलाई समेत मल दिएर पठाउने गरेको स्थानीयले आरोप लगाएका छन् । किसानहरुले मल नपाएको गुनासो चलिरहदा उक्त संस्था संचालकले भनें शेयरधनी संग पहिले नै पैसा लिएको हुनाले गैर सदस्यलाई मल वितरण गर्न नसकिएको बताएका छन् ।

 

सामाजिक दुरीको पालना समेत गरिदैन

 

मल आउने प्रतीक्षामा रहेका किसानहरु लामो समय सम्म मलको प्रतीक्षामा बस्ने गरेका छन् । कतिपय सहकारीले मल बाढ्दा सामाजिक दुरी लाई भन्दा कमाउ धन्दा लाई प्राथमिकता दिने गरेका छन् । अरु समयमा सामाजिक योगदानमा अग्र पंक्तिमा देखा पर्ने कतिपय सहकारीका मल बितरकले सामाजिक दुरीको सामान्य नियम समेत पालना गरेका हुदैनन् ।

 

गौरादह ७ मा रहेकोे जुरोपानी बहुउद्देश्यीय सहकारीले ३ दिन पहिले मल वितरण गर्दा उल्लेख्य संख्यामा  किसानहरु राती १२ बजे देखिनै भेला भएका थिए । बिहान ६ बजे मात्र टोकन पाएका किसानहरु कोरोना संक्रमणको त्रासपुर्ण अवस्थामा पनि रात भर एकै ठाउँ भेला भएर लकडाउन उल्लंघन गर्दा समेत सरोकारवाला निकायलाई कुनै मतलब नै नभएको  स्थानीयहरु गुनासो गर्छन् ।

 

कोरोना महामारीको समयमा हरेक सहकारी डिलरले मल बितरण गरिरहेका छ्न् । धेरै जसो स्थानीय तहमा कडाइका साथ सामाजिक दुरी कायम गराउन लगाउएको भएता पनि गौरादह क्षेत्रमा भने किसानहरुलाई निकै स्वतन्त्रता भएको महसुस गरिएको छ । खुलेआम रुपमा भेला भएर मलको बितरणमा जोखिम अपनाउने सहकारीलाई स्थानीय सरकारले नियमन गर्न नसकेको र यस्तो कार्य बाट भयावह चुनौती निम्तिन सक्ने भन्दै सरोकारवालाले गुनासो गरेका छन् । कतिपय सहकारीले कोरोना त्रासलाई आय आर्जनको माध्यम समेत बनाउने गरेको पाइएको छ ।

 

झापाको कमल गाउँपालिका वार्ड नं. ६ मा रहेको साना किसान सहकारीले यसै साता किसानलाई मल वितरण गर्यो । ८५० रुपैयाँ  प्रती बोराको दरले बिक्री गर्नुपर्ने मल उसले १ हजार रुपैयामा हालेर कृषकले खरिद गर्नु परेको छ । उनीहरुको भनाइमा हातमा बारम्बार सेनिटाइजर गर्नुपरेकोले २ सय रुपैयाँ अतिरिक्त शुल्क लिनु परेको किसानले जवाफ पाएका थिए ।

 

डिभिजन सहकारी कार्यालयले नियन्त्रण र नियमन रहेका सहकारीलाई स्थानीय सरकारको जिम्मामा छोडे संगै अनियमितता र ब्यथितीको दलदलमा सहकारीहरु फस्दै गएको सरोकारवालाले चिन्ता प्रकट गरेका छन् ।