

सान नेपाल



गौरादह/ झापाको गौरादह भुस्याहा कुकुरको गन्तव्य स्थल जत्तिकै बनेको छ । हाट, बजार, सडक, मठ मन्दिरमा जतासुकै मौलाएको छाडा कुकुरको आतंक दिन दुई गुणा रात चार गुणा बढेर गएको पाइएको छ । पशु, चौपाया, हास, कुखुरा केही नभन्ने छाडा कुकुरले मानिसलाई सम्म टोक्ने गरेका घटना बारम्बार दोहोरिने गरेका छन् । लक डाउनको समयमा बजार क्षेत्र सुनसान हुँदा हिजोआज भुस्याहा कुकुरहरु अनियन्त्रित तवरले गाउँ पसेकाको पाइएको छ । गाउँ घरमा भुस्याहा कुकुरको आतंक तेब्बर रूपमा बढेको स्थानीयको भनाइ छ । गाउँ घरमा पसेर जथाभावी पशु चौपायालाई टोक्दै हिड्ने यस्ता छाडा कुकुरको आतंक सानो सानो घटनामा मात्र नभएर कृषकहरुलाई गम्भीर आर्थिक क्षति समेत पुर्याइरहेका छन् ।

भुस्याहा कुकुरको आतंकले गौरादह ४ खाङ्टा घर भएकी पवित्रा घिमिरेको कुखुरा फार्ममा भुस्याहा कुकुर छिरेर १०५ दिनकाे २ हजार लाेकल कुखुरा मध्ये ६५० वटा कुखुरा सखाप पारेको पाइएको छ । बिहान करिब ३ देखि ५ बजे काे समयमा तारजाली नाघी फर्म भित्र पसि नाेक्सानी गरेको बताइएको छ ।
लक डाउनको समयमा एकातिर उत्पादित कुखुरा बिक्री हुन सकेको छैन भने अर्को तिर यसरी फार्म भित्रै छिरेर कुखुरा विनास गर्दा कृषक घिमिरेलाई पर्नु पिर परेको छ । चर्को ब्याजमा कर्जा लिएर सञ्चालित यस्ता कृषि फार्ममा कुकुर आतंक मच्चिदा समेत स्थानीय सरकारलाई भने कुनै सरोकार नै नभएको कृषकहरूले गुनासो गर्ने गरेका छन् । कुकुरको आतंक भोग्न बाध्य कृषक घिमिरे एक प्रतिनिधि पात्र मात्र हुन् । घिमिरे जस्ता कैयौं कृषकहरू भुस्याहा कुकुर बाट पिडित बन्ने गरेका घटना बाक्लै सुनिने गरेको भएता पनि स्थानीय सरकार सञ्चालक लाई भने यस्ता घटनाले कहिल्यै टाउको दुखाएको पाइदैन ।
कुकुर नियन्त्रणमा भ्यासेक्टोमी पद्धति व्यवहारिक हुने भन्दै हरेक वर्ष गौरादह नगरपालिकाले बजेट छुट्याउने गरेको पाइन्छ । यद्यपि भ्यासेक्टोमी गराउन भनेर छुट्याइने बजेट कहाँ कसरी खर्च हुन्छ कसैलाई थाहा नहुने स्थानीयले गुनासो गरेका छन् ।
राज्यको निकै ठूलो बजेट खर्चिएर बनाइएको गौरादह बजार रातभर भुस्याहा कुकुरको रति कृडा स्थल हुने गरेको स्थानीयको गुनासो छ । साग सब्जी र खाध्यान्नको बजार लाग्ने स्थानमा छाडा कुकुरले जतासुकै दिसापिसाब गर्ने र यसबाट जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै बिज्ञान विषयका स्थानीय शिक्षक रोहित आचार्य यसको परिणाम भयावह हुन सक्ने चिन्ता व्यक्त गर्छन् । व्यवसायीले आफ्ना सामानहरु रातको समयमा स्टल मै छोडेर जाने गरेका हुन्छन् र उक्त स्थानमा रातको समयमा अनगिन्ती कुकुरको प्रवेश हुने गरेकोमा व्यवसायीले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक संजालमा डिल्ली रिजाल लेख्छन् ` व्यवसायीको क्षतिको मुल्याङ्कन गरि क्षतिपुर्तिको ब्यवस्था हुनु पर्छ । भुस्याहा कुकुरहरुको उचित व्यवस्थापन गरि दिर्घकालिन रुपमा समस्याको हल गर्न लाग्नु पर्छ ।’
त्यस्तै खगेन्द्र दाहाल लेख्छन् , ‘हाम्रोमा पनि दुई वटा बाख्राका पाठा मारेको थियो……’
सुरेन्द्र पन्त फेसबुकमा लेख्छन्, ‘या त भुस्याहा कुकुर नियन्त्रण गरिनुपर्छ या त्यसको क्षतिपूर्ति स्थानीय सरकारले दिनुपर्छ।’
त्यस्तै लक्ष्मी अधिकारी स्थानीय जनप्रतिनिधि प्रती आक्रोशित हुँदै लेख्छन्, ‘धेरै पटक नगरलाई भनेकै हो, यिनिहरु जनप्रतिनिधि होईनन किनभने यिनिहरु जन गुनासो सुन्दैनन ! भुस्याहा कुकुर नियन्त्रण वा ब्यबस्थापन गर्ने जिम्मा स्थानीय सरकारको होईन ? गरिबको लगानी डुब्दा थपडी बजाउने जनप्रतिनिधि हामीलाई स्वीकार छैन । पशु डलरबादी र नगरले यसको जिम्मा लिनु पर्छ ।’
निर्मल गड्तौलाको फेसबुक प्रतिक्रिया यस्तो छ, ‘गेउरिया खाेलाकाे किनार ( गाैरिया , लखनपुर देखि गाैरिगंज सम्म) क्षेत्रका सबै किसान र बासिन्दा भुसिया कुकुर देखि पिडित हुनुहुन्छ ।कुकुर मार्न कानुनले दिदैन। तर कुकुर नमारि हुदैन। नया कानुनि उपाय अपनाउनु पर्छ।’
स्थानीयवासीले भोगेको पीडा प्रती नगरपालिकालाई कुनै चिन्ता नै नहुने र मोटो बजेट फ्याकेर गरिने अल्पकालीन बिकासे काममा मात्र जनप्रतिनिधिको ध्यान जाने गरेको र नीति निर्माण देखि नगर भित्रको कुनै पनि जिम्मेवारीमा उदासिन गरेको भन्दै सरोकारवालाले असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।