
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भारतसँग सीमा जोडिएका दक्षिपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिका अन्तर्गत २२ किलोमिटर क्षेत्रलाई पूर्ण रूपमा शिल गरिएको छ ।




भारतसँग सीमा जोडिएका स्थानबाट लुछीछिपी रूपमा भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिन रतुवामाईको चुनिमारीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बरडंगाले सीमानाका पूर्ण रूपमा शिल गरेको हो ।

भारतका जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण तीव्र रूपले फैलिँदै गएपछि नेपालतर्फ कुनै पनि किसिमले भारतीय नागरिकको प्रवेश हुन नदिन भारतसँग सीमा जोडिएका नाकाका २२ वटै स्थानमा सशस्त्र प्रहरी परिचालन गरी नाका पूर्ण रूपमा शिलबन्दी गरिएको हो ।
रतुवामाई र सुनवर्षी नगरपालिककाकाे २२ किलोमिटर सीमा नाकामा १२ सय ५० मिटरको अन्तरमा अस्थायी चेकपोस्ट स्थापना गर्दै ६/६ जनाका दरले सशस्त्र प्रहरी परिचालन गर्दै सीमानाका शिल गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बरडंगाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानियाँले जानकारी दिए ।
उनका अनुसार यसअघि ७ स्थानमा मात्र अस्थायी चेक पोस्ट रहेकोमा थप १६ स्थानमा अस्थायी चेक पाेस्ट निर्माण गरेर सीमानाका शिलबन्दी गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक बानियाँले रतुवामाई नगरपालिको छालगाछी, कुटुमगञ्ज, सोनापुर, सोनापुर (क), सोनापुर (ख) डोरिया, आमबारी, मिर्चीडाँगी, भन्सार टोल, बालुबारी, बालुबार(क) घर्रुचोक, सालघारी, सोनामाई थान, सोनामाई थान (क) र सुनवर्षी नगरपालिकाको सिक्टी, सिक्टी(क), सिक्टी(ख), बरडंगा, बरडंगा(क), बरडंगा(ख), खरेबारी तथा हर्चनगढी नाकाका सशस्त्र प्रहरी परिचालन गर्नुका साथै एक टोलीलाई मोबाइल गस्तिका रूपमा परिचालन गरिएको जानकारी दिए ।
‘हाम्रो नियमित ड्युटी त छँदै छ । हामीले यतिबेला थप सुरक्षाकर्मी परिचालन गरी कोही पनि आउनजान नसक्ने गरी शिल गरेका छौँ,’ उनले भने, ‘कोरोना त्रासका कारण कोही पनि नेपाल प्रवेश गर्न नपओस् भनेर स्थानीय जनताले पनि स्वतःस्फूर्त रूपमा आफैँ निगरानी थाल्नुभएको छ ।’
यो समाचार शिलापत्रमा किशोर विश्वकर्माले लेखेका छन् ।